मङ्सिर १०, काठमाडौँ । हुम्लावासीलाई सरकारले चामलमा २० प्रतिशत छुट दिएको तर उक्त छुट रकम व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले नै खाएको प्रमाण फेला परेको छ । कोभिड सङ्क्रमण बढिरहेका बेला गरिएको निषेधाज्ञाका क्रममा सरकारले सो छुट दिएको थियो ।
सरकारले जेठ २१ देखि असार ७ सम्म खाद्य कम्पनीबाट बिक्री हुने खाद्यान्न बिक्रीमा निषेधाज्ञाका क्रममा छुट दिएको थियो । तर, छुट नदिई केन्द्रमा भने छुट दिएको भनी प्रतिवेदन पेस गरेर शाखा कार्यालय हुम्लामा कार्यरत कर्मचारीले झन्डै ११ लाख रुपैयाँ कुम्ल्याएका छन् । ‘सरकारले छुट दिने निर्णय गरे पनि त्यहाँ कार्यरत शाखा प्रमुख निर्मल थापा र सहायक भरत अधिकारीले छुट नदिएको पाइएको हो । तर केन्द्रमा छुट दिएको भनी उनीहरूले कागजात पेस गरे । छानबिन गर्न आन्तरिक कमिटी गठन भयो,’ कम्पनीका एक अधिकारीले भने, ‘छानबिन टोलीले पेस गरेको प्रतिवेदनले पनि छुट नदिएको पुष्टि गर्यो ।’
खाद्यान्न बिक्रीका बेला हुम्ला शाखामा कार्यरत कर्मचारीले खरिदकर्तासँग आवश्यक कागजात नलिनु, सम्बद्ध निकायसँग समन्वय नगर्नु र छुटका विषयमा प्रचारप्रसार नगर्नु गल्ती भएको स्विकारेका छन् ।
कमिसनको खेलमा हुम्लामा खाद्य सङ्कट निम्त्याएको स्पष्ट छ ।




