भोकमरीको मारमा परेका हुम्ला, लिमीका नागरिकलाई सरकारले तत्काल खाद्यान्नको व्यवस्था गर्ने

`

     २०७८ मंसिर ०८ गते ६:०१
भोकमरीले प्रताडित बनेका हुम्ला, लिमीका नागरिकलाई सरकारले तत्काल
खाद्यान्न ढुवानी गर्ने बताएको छ । हिल्सा नाकामा अड्किएको खाद्यान्न गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत  शुक्रवार लिमी पुर्‍याउने बताएको हो ।
उत्पादनको नाममा आलु र उवा मात्रै उब्जनी हुने हुम्लाको नाम्खा गाउँपालिका– ६, लिमीका नागरिकलाई भोकमरीले सताएपछि स्थानीय बासिन्दा राज्यसँग चामल माग्न सिमकोट हुँदै सिंहदरबार, काठमाडौँ आइपुगेका हुन् ।
पाँच हजार मिटर उचाइको न्यालुलेकमा पाँच दिनसम्म तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गर्दै शनिवार सदरमुकाम सिमकोट आएका थिए । तिल, जाङ र हल्जीका बासिन्दाको बैठकले ‘सरकारलाई भोकमरीको पीडा सुनाउन उनीहरूलाई पठाएको थियो । उनीहरूको प्रतिनिधित्व गर्दै नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र हुम्लाका सांसद छक्कबहादुर लामा सिंहदरबारलाई गुहार्न सोमबार साँझ काठमाडौँ  आइपुगेका हुन् ।
विभिन्न सञ्चार माध्यम र स्थानीयको पहलपछि गृह मन्त्रालय र व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थलमार्ग हुँदै सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि सिमकोटमा खाद्यान्न ढुवानी गर्ने बताएको छ ।
राज्यको दायित्वभित्र पर्ने काम गराउन र जनताले स–साना गुनासा सुनाउन पनि अनेकौँ हन्डर खाएर सिंहदरबार नै धाउनुपर्ने व्यवस्था अन्त्य हुनुपर्ने अध्यक्ष तामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?