मंसिर ५, काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । यसको लागि सत्तापक्ष र प्रतिपक्ष एकमत रहेको उनको भनाई छ । प्रेस विज्ञप्ति मार्फत समावेशी, समानुपातिक, सहभागितामूलक सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहाँसिक रुपमा आदिवासी, जनजाती, महिला, दलित, मुश्लिम, अल्पसङ्ख्यक तथा युवाहरूको भूमिका बढाउने काममा उल्लेखनीय सफलता हासिल गरेको र यो काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बाँकी काम पुरा गर्न सहयोगको अपिल विज्ञप्ती मार्फत गरिएको छ ।
युद्धका घटनाको सत्यतथ्य छानबिन गर्न, पीडितलाई क्षतिपूर्ति गर्न र सङ्क्रमणकालीन न्यायको मान्यता कायम गर्न सत्ता र प्रतिपक्ष एकमत रहेको बताएका हुन् ।
प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामको टुङ्गो लगाउने जिम्मेवारी सरकार मात्रै नभएर राज्यको पनि भएको उल्लेख गरेका छन् । युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न पीडितहरूलाई परिपूरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुंगोमा पुर्याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको दाहालको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आजसम्मका राजनैतिक उपलब्धिहरू प्रति गर्व गर्दै सो क्रममा भएका कमजोरीहरुको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ । यो मामला सरकारको मात्र नभई राज्यको मामला हो । यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहान्छौँ ।’ विज्ञप्तीमा भनिएको छ ।
प्रचण्डले माओवादी सशस्त्र सङ्घर्षका क्रमका मृतक तथा बेपत्ता परिवार, घाइते विस्थापित लगायत पीडितसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकता अनुसारको कानुन निर्माण गरेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पुगेको अवसरमा आइतबार प्रचण्डले उक्त कुरा बताएका हुन् ।





