के पी ओलीका कारण संविधान संशोधन रोकिएको प्रचण्डको भनाई 

`

     २०७८ मंसिर ०४ गते ११:४२
मंसिर ४, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण संविधान संशोधन रोकिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।
बालबालिका, महिला, मुस्लिम, मधेसवासीको हक,अधिकार सुनिश्चित गर्ने गरी आफूले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस गरे पनि एमाले अध्यक्ष ओलीले रोकेको उनको भनाई थियो।
शनिवार रौतहटको कटहरीयमा आयोजित आमसभामा प्रचण्डले ओलीलाई मधेसी जनता विरोधी खलपात्रको रूपमा व्याख्या गरे । आफू दोस्रो चोटि प्रधानमन्त्री हुँदा महिला, बालबालिका, मधेसी, उत्पीडित समुदाय, आदिवासी जनजाति लगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको तर, संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षता विरोधी, मधेसी जनता विरोधी केपी ओलीले रोकेको प्रचण्डले बताए ।
प्रचण्डले सो कार्यक्रमको अवसरमा २०६४ सालमा जस्तै गरी यस पटक पनि माओवादी पार्टी एक नम्बर बन्ने दाबी गरे । उक्त कार्यक्रममा प्रचण्डले हाल बन्द रहेको रौतहटस्थित श्रीराम सुगर मिल सञ्चालन गर्ने र बकैया बागमती नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा पहल गर्ने बताए ।  यस्तै, उखु किसानको समस्या समाधान गर्न पहल गर्नुको साथै मधेसको निसाच समुदायको पहिचानका लागि विशेष संरक्षित समुदायमा राख्न प्रयत्न गर्ने पनि बताए ।
कार्यक्रममा मुस्लिम विश्वविद्यालय स्थापना गर्ने मुस्लिम समुदायको माग रहेकोले सोही माग पुरा गर्न पहल गर्ने पनि उनले घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?