काठमाडौँ, १२ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री बन्ने रहर नभएका बताएका छन् ।
‘मलाई मन्त्री हुने रहर छैन, पहिले पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु’ यादवले भने, ‘म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’
अध्यादेश फिर्ता भएपछि सरकारमा सहभागी हुने बताएका जसपा अध्यक्ष यादवले गठबन्धनमा सहभागी सबैले बराबरी संख्याका आधारमा सरकारमा सहभागिता पाउनुपर्ने बताए । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवाबाहेक २४ मन्त्रालयमा ४ दललाई समानरुपमा सहभागी गराउनुपर्ने जसपाको अडान रहेको यादवको भनाइ छ ।
यसरी २४ मन्त्रालय बराबरी भाग लगाउने हो भने अब नेपाली काँग्रेसबाट तीन जनामात्रै मन्त्री थप्न पाइन्छ भने माओवादीबाट ४ जना मन्त्री बन्न पाउनेछन् । बराबरीका आधारमा भागवण्डा गर्दा माधव नेपाल र उपेन्द्र यादवको पार्टीबाट भने ६-६ जना मन्त्री हुन पाउँछन् ।




