काठमाडौँ, १२ असोज । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण बैंकहरुमा तरलता अभाव हुने संकेत देखिएको हो ।
असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, पछिल्लो साताको तथ्यांक हेर्दा निक्षेपभन्दा तेब्बर धेरै ऋण लगानी भएको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज पहिलो सातामा बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर यहीँ अवधिमा भने यी बैंकहरुले जम्मा ९ अर्बमात्रै निक्षेप संकलन गरेका छन् । यसले पनि बैंकहरुमा तरलता समस्या तत्कालै समाधान भइहाल्दैन कि भन्ने संकेत गरेको छ ।
बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । असोज ८ गतेसम्म आइपुग्दा यी बैंकहरुले कर्जा बढाएर ३९ खर्ब ३ अर्ब पुर्याएका छन् । उता निक्षेप भने भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज ८ सम्म जम्मा ९ अर्ब रुपैयाँले मात्रै बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँमात्रै पुर्याएका छन् ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालका अनुसार अहिले वित्तीय बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको छ । राष्ट्र बैंकले बजारमा लगानी योग्य रकम अभाव भए पछि केही दिनअघि मात्रै २० अर्ब रुपैयाँ रकम बजारमा पठाएको थियो ।




