वर्षामा बिजुली लैजाने र हिउँमा फर्काउने बिहारको प्रस्ताव

`

     २०७८ आश्विन ०८ गते ११:१४

काठमाडौँ, ८ असोज । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ ७ बजेदेखि विहान ६ बजेसम्म बिजुली लैजान प्रस्ताव गरेको छ । बिहारले त्यसको सट्टामा हिउँदयाममा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नेपाललाई बिजुली दिन सकिने बताएको छ । यसअनुसार बिहारले जति युनिट बिजुली वर्षायाममा लैजाने छ, त्यति नै युनिट बिजुली त्यसको सट्टामा हिँउदमा फिर्ता गर्नेछ ।

दुई हप्ताअघि भारत भ्रमणमा गएको प्राधिकरणको टोलीले विहार सरकारसँग वर्षायामको बिजुली किन्न प्रस्ताव गरेको थियो । बिहार स्टेट पावर होल्डिङ कम्पनी लि. र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गरेको थियो ।

त्यसबारे औपचारिक जवाफ पठाउँदै बिहारले वर्षायामको रातमा नेपालबाट बिजुली लैजाने र हिउँदमा विहानदेखि बेलुकासम्म बिजुली दिने गरी प्रस्ताव गरेको घिसिङले खुलाए ।

‘हामीलाई त हिउँदको दिउँसोमा बिजुली चाहियो,’ घिसिङले भने,’भारतले दिउँसो सोलारको बिजुली किन्छ र हामीलाई दिन्छ, उसलाई वर्षायाममा रातमा चाहिएको बिजुली हामीबाट लिन्छ ।’

उनले सकेसम्म एक्सचेन्ज मार्केटमा बिजुली बेच्न पनि प्रयास भइरहेको बताएका छन् । वर्षायामको बिजुली भारतको एक्सचेन्ज मार्केटमा बिक्री गर्न धेरै मूल्य आउने भएपनि हिउँदमा भारतबाट महंगोमा बिजुली ल्याउनुपर्ने भएकाले विहारको प्रस्ताव सकारात्मक रहेको उनको स्पष्टीकरण छ ।

‘वर्षायाममा बिजुली पाउँदा उनीहरुलाई पनि फाइदा छ, हामीलाई पनि फाइदा छ,’ उनले संसदीय समितिमा भने,’यो लगभग विन-विन सिच्युएसन हो।’अध्ययनपछि उचित निर्णय लिएर अघि बढ्ने घिसिङको भनाइ छ ।

नेपालमा हिउँदयाममा नदीमा पानीको सहत घट्ने भएकाले गत वर्ष ५० प्रतिशतभन्दा बढी बिजुली भारतबाट आयात गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?