प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाने

`

     २०७८ आश्विन ०८ गते ९:१४

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कटल्याण्ड जाने भएको छ।

स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप -२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन्।

बेलायती कूटनीतिज्ञ एवं कोप-२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।

बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ। नेपालले यसपटक तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पारिरहेको असरसँगै जलयावु परिवर्तनले निम्त्याएको क्षतिपछिको पुनर्निर्माणको विषयमा केन्द्रित भएर आफ्ना धारणा राख्ने तयारी गरिरहेको छ।

संयुक्त राष्ट्रसंघको महासभामा केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनले असर पारेका मुलुकलाई ५.७ बिलियन डलर सहयोग गर्ने घोषणा गरेको ब्लुमबर्गले जनाएको छ।

त्यस्तै चीनका राष्ट्रपति सी चिनफिङले पनि आफ्नो देश बाहिर कोइलाबाट विद्युत उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?