विद्यालय भौतिक उपस्थितिमा पठनपाठन भए पनि विद्यार्थीले पाएनन् पाठ्यपुस्तक 

`

     २०७८ आश्विन ०६ गते ७:०६

काठमाडौँ, ६ भदौ । लामो समय पछी विद्यालय भौतिक उपस्थितिमै नियमित पठनपाठन सुचारु भए पनि विद्यार्थीलाई पाठ्यपुस्तक भने अभाब भएको छ । कञ्चनपुरमा भदौ तेस्रो सातादेखि नै पठनपाठन सुचारु भएको हो ।

स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड र शिक्षा मन्त्रालयको विद्यालय सञ्चालन कार्यविधि पालना गरेर भौतिक रूपमा कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेपछि यहाँका विद्यालयहरू सुचारु भएका हुन् । ‘स्कुल खुले, पढाइ पनि सुचारु भयो तर विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्,’ नेहा पुस्तक भण्डारका शंकरदत्त भट्टले भने, ‘विद्यार्थीहरू दिनहुँ पुस्तक खोज्दै आइरहेका छन् ।’ उनका अनुसार कक्षा १० को अर्थशास्त्र, ८ र ९ को अनिवार्य विषय र अन्य ऐच्छिक विषयका पुस्तकको अभाव छ ।

ढिलो गरी विद्यालय खुल्नु र विद्यार्थीको यकिन तथ्यांक उपलब्ध नभएका कारण पाठ्यपुस्तक अभाव भएको हुन सक्ने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरका शाखा अधिकृत राजेन्द्र भट्टले बताए । उनका अनुसार गत वर्ष भर्ना भएका सबै विद्यार्थी अझै भर्ना भएका छैनन् । ‘विद्यालयले माघ, फागुनमै उपलब्ध गराउने तथ्यांकका आधारमा पाठ्यपुस्तक आउने हो,’ उनले भने, ‘गत वर्षदेखि यो प्रक्रिया सबै रोकिएको छ ।’ प्रावि तहको पाठ्यपुस्तक निजी छापाखानामा छापिन्छ । सरकारले १ देखि १० कक्षासम्मका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँछ । कक्षा ६ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामग्री केन्द्रले छाप्ने गरेको छ । समयमै पुस्तक नछापिने गरेका कारणसमेत अभाव हुने गरेको छ ।

‘तल्लो कक्षाको पाठ्यक्रम फेरिने भएकाले एकमुष्ट ठूलो परिमाणमा पाठ्यपुस्तक छाप्न सकिँदैन,’ जनक शिक्षा सामग्री केन्द्र धनगढीका क्षेत्रीय प्रमुख ध्रुव पन्तले भने, ‘अन्य कक्षाका पुस्तकहरू पनि छपाइमै ढिलो हुने गरेको छ ।’ उनका अनुसार कक्षा ४, ७, ८, ९ र १० मा ३र३ हजार थान पुस्तकको अभाव छ । उनले त्यहीअनुसार माग गरिएको बताए । कक्षा ११ र १२ को सामाजिक विषयको पुस्तक पनि अभाव छ । उक्त कक्षाका पनि १ हजार थान पुस्तक माग गरिएको पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?