काठमाडौँ, २४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहित नायब उपाध्यक्ष जोनाथन ब्रुक्स टोलीबिच बालकोटमा छलफल भइरहेको छ ।
४ दिने भ्रमणका लागि विहीबार कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको एमसीसी उपाध्यक्ष सुमारसहितको टोलीले पहिलो भेट प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग गरेको हो ।
अहिले बालकोटमा एमसीसी टोली र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भइरहेको जानकारी गराइएको छ । उक्त छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।
एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालसँग बेग्ला–बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।



