काठमाडौँ २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विकास निम्ति विभिन्न लक्ष्य तोकिएको, तर लगानी अभाव भएको बताएका छन् ।
‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धि र समृद्धिको यात्रातर्फ अघि बढेका छौँ, नेपालले सन् २०२३-२४ सम्म अल्पविकसित मुलुकबाट विकाशील मुलुकमा र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य निर्धारण गरेको छ, सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न चाहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यी लक्ष्य भेट्न हामीलाई पर्याप्त लगानी आवश्यक छ । तर, अहिले वार्षिक रूपमा नेपालमा ६ अर्ब डलर (७ खर्ब २० अर्ब रुपैयाँ) वित्तीय रिक्तता (फिस्कल ग्याप) छ ।’
सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक छ भन्ने महसुस गरेको र यस्ता परियोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउन उपयुक्त रहेको देउवाले उल्लेख गरे ।




