काठमाडौँ, १५ भदौ । लगभग ५ महिनाअघि पूर्वी नाका भारतीय यात्रीको प्रवेशमा सहज पारेको छ । नाका खुकुलिएसँगै भारतीय यात्रीको आउजाउ बाक्लिन थालेको छ ।
खोप लगाएको या ७२ घण्टाभित्र गरिएको पीसीआर रिपोर्टका आधारमा भारतीयलाई प्रवेश दिन थालिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले जनाए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सीमा क्षेत्रका व्यवसायीले समेत आग्रह गरेपछि व्यावहारिकताका आधारमा भारतीयको प्रवेशलाई खुकुलो पारिएको जानकारी दिए । तर, कोरोना विपद् व्यवस्थापन केन्द्रले भने भारतीयलाई प्रवेश दिने विषयमा आधिकारिक निर्णय नगरेको उनले जनाए । उनले गृह मन्त्रालयको समन्वयमा भारतीयलाई आउन दिइएको जनाए । ‘जिल्लामा कोरोना संक्रमण दर पनि घट्न थालेको छ,’ प्रजिअ तिम्सिनाले भने, ‘अब बिस्तारै नाका सहज बनाउँदै लानुको विकल्प छैन ।’




