काठमाडौं, ८ भदौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तालिबान विगतमा आतंकवादी संगठन रहेको र अहिले पनि आतंकवादी नै भएको बताएका छन् । उनले तालिबानमाथि प्रतिबन्धको विषयमा छलफल गर्नुपर्ने पनि बताएका छन् ।
अफगानिस्तानबारे मंगलबार जी७ का मुलुकबीच बैठक हुन गइरहेको अवस्थामा ट्रुडोले यस्तो बताएका हुन् । मंगलबार जी७ का सदस्य मुलुक क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाबीच भर्चुअल बैठक हुने कार्यक्रम छ । क्यानडाका प्रधानमन्त्रीले अब यस विषयमा आफूले जी७ का मुलुकसँग प्रस्ताव राख्ने बताइसकेका छन् ।
बेलायतले अहिले जारी रहेको प्रतिबन्ध तालिबानको व्यवहार अनुसार परिवर्तन हुन सक्ने बताइसकेको छ ।
उनले आफ्नो ध्यान अहिले अफगानिस्तानबाट मानिसको उद्धार गर्नेतर्फ केन्द्रित रहेको बताएका छन् ।




