एजेन्सी, ३२ साउन। बाइडनले अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् ।।
ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’
यस्तै, बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ ।
बीबीसीका उत्तरी अमेरिका सम्पादक जोन सोपेलले लेखेका थिए– अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने नीति ट्रम्पको थियो तर यस अराजकताको जिम्मेवारी बाइडनले लिनुपर्छ ।
अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनासाथ तालिबानले अफगानिस्तान कब्जा गर्ने क्रमलाई तीव्रता दिएको थियो । यस घटनापछि बाइडनको आलोचना हुँदै आएको छ ।




