काठमाडौं, ३२ साउन । अफगानिस्तामा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ ।
राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको आरोप लगाउँदै अफगान नागरिकहरूले बाइडेनविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौँ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएका छन् ।
आइतबार तालिबानले राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ भित्रै आफ्ना सबै सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने नीति लिएपछि तालिबान सक्रिय बनेको हो ।
तालिबान आइतबार काबुल प्रवेश गरेपछि राष्ट्रपति अशरफ घानीले देश छोडेका थिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेका छन् ।




