चारै दिशाबाट काबुल प्रवेश गर्न थाले तालिवान, कर्मचारीहरू सरकारी भवन छाडेर भागे, सर्वसाधारणहरू खुला पार्कमा
एजेन्सि, ३१ साउन । तालिवान लडाकुहरू राजधानी काबुल प्रवेश गर्न सुरु गरेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूहले जनाएको छ ।
अफगान सरकार र तालिवानबीचको वार्ता स्थल बनेको दोहामा रहेका एक तालिवानका नेताले हिंसामा जोड नदिन र काबुल छाडेर जान चाहनेहरूलाई सुरक्षित रूपमा जान दिन निर्देशन दिइएको अलजजिरा बताएका छन् । अब राष्ट्रपति असरफ घानीले तालिवानसँग संघर्ष गर्छन् वा आत्मसमर्पण गर्छन्, त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।
राष्ट्रपति घानीको कार्यालयका प्रमुखले ट्वीटरमा काबुलका जनताहरुलाई नअत्तालिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘कृपया चिन्ता नलिनु होला । केही समस्या छैन । काबुलको अवस्था नियन्त्रणमा छ ।’
शनिबार साँझ ट्वीटरमा छोटो सन्देश दिएयता घानी भने सार्वजनिक रूपमा देखिएका छैनन् ।
यता, तालिवानले आफूहरू काबुल प्रवेश गर्न थालेको सूचना जारी गर्दै आफूहरू शक्ति प्रयोग गरेर काबुल कब्जा गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ ।
कर्मचारीहरू सरकारी भवन छाडेर भागेका छन् भने सर्वसाधारणहरू खुला पार्कमा बस्न थालेका छन् ।




