एजेन्सि, २८ साउन । रुसको सुदूर पूर्वको एक तालमा १६ जना मानिस बोकेको हेलिकप्टर दुर्घटना भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार अहिलेसम्म ९ जनाको सकुशल उद्धार गरिएको छ । हेलिकप्टरमा १३ जना पर्यटक र ३ जना क्रु सदस्य थिए । उक्त हेलिकप्टर कामचट्का प्रान्तको कुरिल तालमा दुर्घटना भएको हो ।
एमआई ८ मोडलको उक्त हेलिकोप्टरले मस्को र सेन्ट पिटर्सवर्गका पर्यटकहरु बोकेको समाचारमा बताइएको छ । मस्कोबाट ६ हजार किलोमिटरभन्दा टाढा रहेको कामचट्का प्रान्त पर्यटकहरुको लागि निकै लोकप्रिय गन्तव्य हो ।
गत जुलाईमा सोही प्रान्तमा भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।




