एजेन्सि, २५ साउन । १ सातादेखि लागेको डढेलोका कारण ग्रीसको इभिया टापुमा हजारौं मानिस विस्थापित भएका छन् । छैटौं दिन पनि आगो अनियन्त्रण गर्न नसक्दा इभिया टापुका विभिन्न गाउँका बासिन्दालाई सुरक्षित लगिएको छ ।
इभियामा हजारौं हेक्टर क्षेत्रफलमा फैलिएको वन डढेलोले सखाप पारेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । ५ वटा गाउँमा डढेलोले क्षति पुर्याएको जानकारी आए पनि क्षतिको पूरा विवरण आएको छैन ।
‘यहाँको दृश्य हरर फिल्मको जस्तो छ,’ उद्धार गरिएकी ३८ वर्षीया गर्भवती महिलाले रोयटर्ससँग भनिन् । उनलाई खरानी खरानी भरिएको किनाराबाट डुंगाबाट उद्धार गरिएको थियो । उनले अगाडि भनिन्, ‘तर यो फिल्म होइन, यो वास्तविक जीवन हो । तर एक हप्तादेखि हामीले भोग्दै आएको त्रासद हो यो ।’
इभियामा ५७० भन्दा बढी अग्निनियन्त्रकहरु निरन्तर डढेलो निभाउनका लागि खटिरहे पनि सफल भएका छैनन् ।
मध्य ग्रीसका गभर्नर फेनिस साप्नोसले एक हप्तादेखिको अवस्था ‘निकै कठिन’ भएको बताएका छन् । उनका अनुसार २५ सयभन्दा बढी मानिसलाई उद्धार गरी विभिन्न होटेल र सेल्टरहरुमा राखिएको छ । त्यस्तै एथेन्सको उत्तरी भेगमा पनि डढेलो फैलिएको छ ।




