काठमाडौं, २१ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको मैतीदेवीको घरलाई संग्रहालय निर्माणका लागि सरकारले सोमबारदेखि तीनतले पुरानो भवन भत्काउन थालेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले टेन्डर प्रकिया पूरा भई संग्रहालय बनाउने काम भइरहेको जानकारी दिएका छन् ।
नयाँ संग्रहालयको भवनको पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्री, सुत्नका लागि प्रयोग गरेको पलङ, लगाएका कपडा, प्रयोग गरेका भाँडाकुँडा, औजार पनि राखिने छ ।
दोस्रो तलामा देवकोटाले लेखेका सबै सामग्री,प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपी राखिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
अहिलेको काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा सरकारले २ करोड ५० लाखमा किनेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको थियो । धोबीधारामा जन्मेका देवकोटाले उक्त घर वि।सं १९९० आसपास खरिद गरेको थिए ।




