एजेन्सि, २१ साउन । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको छ ।
उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
कोक्सबजारको दक्षिणपूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ ।
दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ । बङ्गलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो ।
सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो । त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।




