एजेन्सी, ३ साउन । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार भारतमा थप ४१ हजार १ सय ५७ जना कोरोना सङ्क्रमित थपिएको जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी रहेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ४ लाख २२ हजार ६ सय ६० रहेको अधिकारीले बताएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण थप ५ सय १८ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या भारतमा हालसम्म ४ लाख १३ हजार ६ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४२ हजार ४ जना कोरोना मुक्त भएपछि भारतमा तीन करोड २६ लाख ९ हजार ७ सय ९६ व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ३९ लाख ५८ हजार ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएको छ । जस मध्ये १९ लाख ३६ हजार ७ सय ९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ ।
त्यस्तै गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४० करोड ४९ लाख ३१ हजार ७ सय १५ ओटा कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।




