काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने, ‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवतस् सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ ।’
ढकालले भने, ‘सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन। प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौँ ।’
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
यो सँगै देउवा पाँचौँपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।




