हुम्ला, २१ असार । हुम्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र पूर्ण स्वास्थ्य बिमित पालिका घोषणा गर्दै सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
तीन वर्षअघि खार्पुनाथले प्रतिघर धुरी एक हजार अनुदानसहित सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेपछि आगामी आवभित्र सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए ।
उनका अनुसार ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नारालाई आत्मसात् गर्दै गाउँपालिकाले गत बुधबारदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुभारम्म पनि गरेको छ ।
गाउँपालिकाका ५ वटै वडामा रहेका सबै घरधुरीलाई स्वास्थ्य बिमा दर्ता गर्दा लाग्ने शुल्क पालिकाले अनुदानस्वरूप दिने घोषणा गरेअनुसार सबै वडाहरूमा स्वास्थ्य बिमा गर्ने कामको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । करिब १ हजार ३ सय ५ घरधुरी रहेको गाउँपालिकामा स्वास्थ्य बिमा गराउन ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
स्वास्थ्य बिमामार्फत नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । बिमाबापत सरकारले तोकेका अस्पतालमा १ लाखसम्मको उपचार सुविधा पाउनेछन् । पाँच जना सदस्य बराबर ३ हजार ५ सय रुपैयाँ बिमा शुल्क लाग्छ ।




