झापा, १५ असार । झापाको दमक नगरपालिकाबाट ९ ग्राम ३ सय मिलिग्राम लागुपदार्थ ब्राउन सुगर र ५ लाख १४ हजार ३०० रुपैयाँसहित चारजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–५ वालुवाथानका २६ वर्षीय बिवेक लिम्बु, २२ वर्षीय शौरभ राई र इलामको चुलाचुली गाउँपालिका–४ घर भई दमक नगरपालिका–५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन्।
दमक–६ थाना रोडबाट दुई ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागुऔषध विक्रम र खगेन्द्रबाट खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३ सय रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो।
साथै, इलाम चुलाचुली गाउँपालिका–४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




