काठमाडौँ, १३ असार । आज बजार २७.१७ अङ्कले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८७०।१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३।७६ अङ्कले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको बढाइले बजार सकारात्मक र बुलिस ट्रेन्डमै रहेको प्रस्ट हुने बताउँछन्। नेपाल धितो पत्र बोर्डले हालै ‘जोखिमयुक्त’ भन्दै सार्वजनिक गरेको ५१ कम्पनीको लिस्टले बजारमा कारोबार भने केही प्रभावित भएको उनको ठम्याइ छ। ‘यसले गर्दा साना र मझौला लगानीकर्ता केही आत्तिएजस्तो देखिन्छ’, उनले भने, ‘ठुला लगानीकर्ताहरू पनि सेयर बेचेर बजारमा पुनः फर्किन उपयुक्त समयको पर्खाइमा रहेको देखिन्छ।’
कारोबार रकम घट्नुको अर्को कारण भने बजारमा जस्तोसुकै दबाब सिर्जना भए पनि लगानीकर्ताहरू घटेर सेयर बेच्ने पक्षमा नरहेको र अहिलेको बजार मुभलाई हेरेर पर्ख र हेरको रणनीतिमा रहेको अनुमान गर्न सकिने रौनियार बताउँछन्। ‘यस्ता लगानीकर्ताहरू अब मौद्रिक नीतिको पर्खाइमा रहेको देखिन्छ’, उनले भने।
ब्याजको दबाब पर्ने असार महिनामा बजार बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने रौनियारको तर्क छ। ‘मौद्रिक नीति सकारात्मक आउने र ब्याजदर पनि एकल विन्दुमै रहने भएकोले बजार पुनः लय अवश्य फर्किनेछ’, उनले भने, ‘अहिले ढुक्क भएर लगानी गर्ने समय हो, बोनस खाने समय पनि नजिकिँदै छ।’सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने आजको बढाइले बजार दिगो बन्दै गएको रूपमा बुझ्छन्। ‘आज बैङ्किङ सेक्टर चलेको छ’, उनले भने, ‘यसले अब बजार सकारात्मक हुँदै जाने देखिन्छ।’
कोभिडको त्रास घटिसकेकोले अन्य क्षेत्रभन्दा सेयर बजारमा अवसर रहेको न्यौपाने बताउँछन्। कारोबार घट्दैमा डराइहाल्नुपर्ने अवस्था नरहेको रहेको भन्दै न्यौपाने सुरक्षित र बलिया कम्पनीमा लगानी अध्ययन गरेर लगानी गर्दा उचित हुने सुझाव दिन्छन्।आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २।६७ प्रतिशतले उकालो लागेको छ। बैङ्किङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, लघुवित्त समूहमा ०.१० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४९ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन वित्त समूहमा सर्वाधिक १.७६ प्रतिशत गिरावट आएको छ। विकास बैङ्क समूह १.३६ प्रतिशतले घटेको आज होटेल तथा पर्यटन समूह १.१९ प्रतिशत, जीवन बिमा समूह ०.०७ प्रतिशत र निर्जीवन बिमा समूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरू
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ४० करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सेञ्चुरी कमर्सियल बैङ्कको ३७ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँ, एचआईडीसीएलको २५ करोड ८८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २२ करोड ८० लाख रुपैयाँ, सिभिल बैङ्कको २० करोड ८१ लाख रुपैयाँ, एनआईसी एसिया बैङ्कको १९ करोड ४० लाख रुपैयाँ, राधी विद्युत् कम्पनीको १६ करोड ६२ लाख रुपैयाँ, निफ्राको १५ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सेञ्चुरी कमर्सियल बैङ्क र अप्पर तामाकोशीका सेयर धनीहरू मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। युनाइटेड इदी मर्दीको सेयर भाउ पनि ७ प्रतिशत बढीले उकालो लागेको छ।
आज गोर्खाज फाइनान्सका सेयर धनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।




