एजेन्सी, २७ वैशाख। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
उक्त अवधिमा कोरोना संक्रमणबाट ३ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्यामा अघिल्ला दिनको तुलनामा कमी देखिएको जनाएको छ ।
योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या पनि २ करोड २६ लाख ६२ हजार भन्दा बढी रहेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि २ लाख ४६ हजार १ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ४८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा नयाँ संक्रमितको संख्या ४७ हजारभन्दा बढी छ ।
केरलामा पनि ३५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतको तामिलनाडुमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।
कोरोनाको संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले लकडाउनको घोषणा गरेका छन् । लकडाउन गरिएको केही राज्यमा भने विस्तारै संक्रमणमा कमी देखिन थालेको छ ।
दिल्लीले थप एक साता लकडाउन थप गर्ने निर्णय गरेको छ । उत्तर प्रदेशले पनि एक साताको लागि लकडाउन लम्ब्याएको छ ।




