काठमाडौँ, २६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठबाट निस्किएर सिधै बालुवाटार पुगेका छन् ।
विश्वासको मतको मिति नजिकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका हुन् । बुढानीलकण्ठमा लामो छलफल गरेपछि प्रधानमन्त्री ओलीको विपक्षमा जान ठाकुर र महतो तयार भएको बालुवाटार निकट स्रोतले दाबी गरेको छ ।
देउवासँग करिब दुई घण्टा छलफल गरेर ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका छन्। ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका छन् ।
अध्यक्ष ठाकुरनिकट जसपा नेता डा. सुरेन्द्र झाले जसपाले आधिकारिक निर्णय नगरिसकेकोले केही नेताहरूको धारणालाई मात्रै विश्वास नगर्न देउवालाई आग्रह गरिएको छ।
एमाले विभाजित भएको अवस्थामा जसपाको मत निर्णायक नहुने भएकोले तटस्थ बस्ने सम्भावना रहेको झाले बताएको छ ।




