काठमाडौँ, २३ वैशाख। प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ।
संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद कोरोना भाइरस संक्रमण भएको हो ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।
स्वाब दिनका लागि प्रतिनिधिसभा सचिवालयको लोत्से हल पुगेर सांसदहरूले दिएको स्वाबको आज नतिजा आएको हो।
संक्रमित सांसदलाई संसद बैठकमा बस्ने व्यवस्था गर्ने वा नगर्ने र प्रधानमन्त्रीले विश्वासको मत माग्दा मत व्यक्त गर्ने व्यवस्था कसरी मिलाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ।




