काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीवार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि आजै बिहान नेपाल एमालेको आकस्मिक स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका थिए ।
आजको बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेपछि थप महत्त्वपूर्ण निर्णय हुनसक्ने चर्चा समेत सुरू भएको बताएको छ । यसअघि भएको मन्त्रिपरिषद् बैठकअघि ओलीले भण्डारीलाई भेटेपछि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वानदेखि विवादित अध्यादेश जारीसम्मका निर्णय भएको थियो ।
बिहीबारै बिहान बसेको नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठकमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा बागमतीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउनेबारे निर्णय हुने चर्चा थियो । यसअघि एमालेले बादललाई नै उम्मेदवार बनाउने गरी छलफल गरिरहेको थियो ।
तर आकस्मिक बैठकमा यससम्बन्धी निर्णय रोकिएको छ । बैठकले गृहमन्त्री बादललाई उम्मेदवार बनाउनुअघि मत विश्लेषण गर्ने भएको छ । नेकपा माओवादी केन्द्रले बादललाई कारवाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारबारे समग्र छलफल भएको र उम्मेदवारको निर्णय १–२ दिनमा हुने एक नेताले बताए।




