एजेन्सी, २२ वैशाख। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोरोना संक्रमणबाट ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।
यो संख्या एकैदिन कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्युको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा भारतमा थप ३ लाख ८२ हजारभन्दा बढीमा थप कोरोनाका संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ६ लाख ६५ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख २६ हजार १ सय ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ४४ हजारभन्दा धेरै छ । केरलामा ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । उत्तर प्रदेशमा पनि २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म १६ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।




