काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताएका छन् ।
आज (सोमबार) देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो । कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।’
कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । हालसम्म कोरोनाबाट अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए ।
हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
साथै, अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताए । स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताएको छ ।




