दाङ, १९ वैशाख। कोरोना सङ्क्रमणका कारण दाङमा थप दुईजनाको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जनाएको छ ।
तुलसीपुरका पुरुष शनिबारदेखि उक्त अस्पतालमा उपचाररत थिए । उनको आइतबार दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको आइतबार बिहान साढे ८ बजे मृत्यु भएका हुन्।
योसँगै बेलझुण्डी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको व्यवस्थापक वलीले जानकारी दिए । अक्सिजन अभावकै कारण उनीहरुको मृत्यु भएको उनको भनाइ छ ।
उनले भने, ‘हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन, अहिले स्थिति संकटपूर्ण हुन लागिसक्यो ।’
कोरोना अस्पताल बेलझुण्डीमा हाल ५९ जना कोरोनाका बिरामीहरु उपचाररत रहेका छन् ।




