काठमाडौँ, १९ वैशाख । जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरेका थिए ।
जसपा नेपालको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान लागेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै अकस्मात राजीनामा दिए ।
पार्टीको निर्णयविपरीत जसपाका चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएका थिए । समर्थन जनाउँदै उनीहरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद जानुका साथै अब मन्त्री पद पनि गुमेको छ । उनीहरुलाई पुनः सपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले नै राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै जसपाको पार्टी कार्यालय बबरमहलमा उनीहरु पार्टीका शीर्ष नेताहरुसँग परामर्शमा जुटेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब रिटमा जाने कि जाने विषयमा उनीहरुले छलफल गर्न थालेको बताएका छन् ।




