वीरगन्ज, १७ वैशाख । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको शुक्रबार बिहान निधन भएको छ ।
कालिकामाई गाउँपालिका–२ भेडिहारीनिवासी ८२ वर्षीय कुशवाहको बिहान २ बजे निधन भएको ५ नम्बर वडाध्यक्ष पवन तिवारीले जानकारी दिए ।
ज्वरो र रुघाखोकी लागेपछि कुशवाह एक सातादेखि वीरगन्जस्थित घरमै आराम गरिरहेका थिए । छोरा डा.दिलीप कुशवाहले उनको रेखदेख गरिरहेका थिए ।
स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि बिहान अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको वडाध्यक्ष तिवारीले बताए। कोरोनाको आशंकामा बिहीबार अध्यक्ष कुशवाहको स्वाब संकलन गरिए पनि रिपोर्ट आइनसकेको उनले जानकारी दिए ।




