काठमाडौँ, २७ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले पद मुक्त भएका ४ जना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जा मन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशङ्कर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।
उनीहरूलाई आज (शुक्रवार) साँझ ५ बजे शपथ गराउने तयारी गरेका छन् ।
माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केही दिनअघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।
उनीहरूलाई राष्ट्रपति भण्डारीले धारा ७८ (१) अनुसार मन्त्री पदमा पुनः शपथ गराउन लागेकी हुन् । ४ जना नै यसअघि सम्बन्धित मन्त्रालयका मन्त्री रहेका थिए ।
यसअघि अर्थमन्त्री युवराज खतिवडाले सोही प्रावधानअन्तर्गत पुनर्नियुक्ति पाएका थिए ।




