एजेन्सी, १५ चैत । ब्राजिलमा शनिबार एकैमा मात्र कोरोना भाइरसको संक्रमणबाट ३ हजारभन्दा बढीको मृत्यु भएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको संक्रमणबाट नै ज्यान गएको छ।
ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरूको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ। योसँगै पछिल्लो समयमा ब्राजिलमा कोभिड १९ को संक्रमण डरलाग्दो गरी बढेको मन्त्रालयले जनाएको छ।
गत शुक्रबार ३ हजार ६५० जनाको यो संक्रमणबाट ज्यान गएको थियो। यो संख्या ब्राजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबैभन्दा बढी हो।
त्यसको दोस्रो दिन अर्थात् हिजो शनिबार पनि ठूलो संख्यामा नागरिकको यो महामारीबाट ज्यान गएको बताइएको छ। ब्राजिल कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख १० हजार ५५० जनाको मृत्यु भएको जनाएको छ। कोरोना भाइरसको संक्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ। त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
योसँगै शनिबार एकै दिनमा ब्राजिलमा थप करिब ८६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २४ लाख ९० हजार पनि नाघेको जनाएको छ ।




