काठमाडौँ, १३ चैत। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाल र भीम रावललाई कारबाही गर्ने संकेत गरेका छन्।
बालुवाटारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले नेपाल र रावलले फर्काएको स्पष्टीकरणको जवाफ ‘कारबाहीको भागीदार हुने बताएका छन् ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधिएका चार नेता मध्ये दुई जनाको स्पष्टीकरण आएको र त्यो नकारात्मक रहेकोले कारवाहीको भागीदार भएको भनेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘फागुन २८को निर्णय फिर्ता हुँदैन। माधवजीहरूको स्पष्टीकरणको जवाफीपत्र कारबाहीका भागीदार हुनेछन्।’ तर उनीहरूलाई कस्तो कारबाही हुने भन्नेबारे बैठकमा उनले केही भनेका छैनन्।
उनले दुई नेताको स्पष्टीकरण आउन बाँकी रहेकाले त्यो सकारात्मक ढंगले आउने र त्यसले पार्टीलाई एकताबद्ध बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलले स्पष्टीकरण दिए पनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिएका छैनन्। दुवैजनाको स्पष्टीकरण कारवाहीको भागीदार भए पनि के कारवाही हुन्छ भन्ने कुरा ओलीले बताएका छैनन्। कारवाहीको निर्णय केन्द्रीय समितिबाट हुने उनको भनाइ छ।
बैठकमा बोल्दै नेपाल समूहका सांसद् एवम् वरिष्ठ नेता झलनाथ खनाल, सांसद घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले प्रधानमन्त्रीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।
‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौँ’, ओलीको भनाइ पत्रकारलाई सुनाउँदै भट्टराईले भने, ‘व्यक्तिगत रुपमा आलोचना र गुनासा सुन्न तयार छौँ। त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस्। तर, गुटगत हिसाबले छलफल र कुराकानी नहुने जानकारी गराउनु भएको छ।’
‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्वत् भएका छन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन।’ प्रधानमन्त्री ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रष्ट पारे।
उनले आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नभएको दाबी गरेका हुन्।




