बर्दिया, १३ चैत । भारतको मुम्बई तथा स्वदेश फर्किएका हरेक नागरीकलाई कम्तीमा दस दिनसम्म होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
भारतको महाराष्ट्र, दिल्ली, राजस्थानलगायत राज्यमा कोरोना संक्रमण तीव्र भएको भन्दै त्यसको असर नेपालमा पर्न सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।
भारतबाट आउजाउ हुने नाकामा हेल्थ डेस्क राखिएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोली नाका–नाकामा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
उनले भने, ‘काम गर्न गएका नेपाली नागरिकलाई दस दिन क्वारेन्टाइनमा बस्न भनिएको छ ।’ दस दिनसम्म कुनै लक्षण नदेखिए बाहिर आउजाउ गर्न पाउनेछन् ।
भारतबाट आएकालाई स्वास्थ्यकर्मीले नाकाबाट आउजाउ गर्नेलाई ज्वरो मापनलगायत स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरोना संक्रमण फैलिए पालिकालाई क्वारेन्टाइनको व्यवस्था गर्ने भएकाछन् ।
मास्क अनिवार्य भनिए पनि कार्यान्वयन भने भएको छैन । नाकामा कडाइ गरिदै सर्वसाधारणलाई सचेत रहन निर्देशन दिएको सीमा सुरक्षा बल ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताएको छ।




