काठमाडौँ, १३ चैत। नेकपा एमालेको संसदीय दलको आजको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नजाने भने पनि दलको बैठक लगातार बहिष्कार गर्नु राम्रो नहुने केही नेताले बताए।
पूर्वमन्त्री योगेश भट्टराईले दलको बैठकमा जाने नेपाल प्रेसलाई बताए । माधव नेपाल, झलनाथ खनाल लगायताका नेताहरूको सहभागिताबारे भने अहिले केहीबेरमा बस्ने केन्द्रीय सदस्यहरूको बैठकपछि तय हुने बताएको छ ।
माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा बस्दैछ । यस बैठकले थप रणनीति तय गर्ने र दलको बैठकमा जाने वा नजाने टुंगो लगाउने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले जानकारी दिए ।
बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । उक्त भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।




