काठमाडौँ, ११ चैत। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नगर्ने सांसदलाई कार्वाही गर्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
संघीय संददीय दलको नेतासमेत रहेको ओलीले १ नम्बर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गर्न मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएको छ ।
मुख्यमन्त्री शेरधनराईको विरुद्धमा भीम आचार्यको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्ताव फिर्ता नलिए कारवाही गर्न ओलीले राईलाई निर्देशन दिएको छ ।
ओलीले राईलाई काठमाडौँ बोलाएर हस्ताक्षरण फिर्ता लिन समय दिने र फिर्ता नलिए कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रदेश १ मा एमालेको ५१ जना सांसद रहेका छन् । जसमा ३१ जना राईको पक्षमा रहेका छन्, भने बाँकी राईकोविरुद्धमा रहेका छन् ।
एमालेले प्रदेश तथा संघको समानुपाति सांसदहरुलाई कारबाही गर्ने तथा हटाउने अधिकार अध्यक्ष ओलीलाई दिइसकेको छ ।
त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराएको छ । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेर दर्ता गरिएको उक्त प्रस्ताव फिर्ता नलिए एमालेका सांसदहरुमाथि कारबाही प्रक्रिया अघि बढाउने ओलीको तयारी रहेको छ ।




