काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अर्को लडाइँ लड्नुपर्ने स्थिति आएको बताएका छन् । प्राप्त उपलब्धिहरू खतरामा परेको भन्दै उनले उपलब्धि रक्षाका लागि अर्को लडाई लड्नुपर्ने स्थिति आएको बताएका छन् ।
दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओलीले अर्को लडाई लड्नुपर्ने परिस्थितिमा पुर्याएको भन्दै उनले ओलीलाई धन्यवाद दिए ।दलित, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिमले अधिकार प्राप्त गर्दा सबैभन्दा दुःखी हुने मान्छे प्रधानमन्त्री बनेको भन्दै प्रचण्डले ती सबै अधिकार खोस्ने दाउमा ओली रहेको बताए ।
ओलीले संविधान नै धरापमा पार्ने स्थिति बनाएकाले रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा उनको जोड थियो । दलित, आदिवासी जनजाति, महिला, मधेसी, अल्पसङ्ख्यक जाति, समुदाय क्षेत्रको पहिचान स्थापित गर्न आफूले कहिल्यै कसर नराखेको भन्दै प्रचण्डले पहिचानको आन्दोलन नछाडेको बताए ।
प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अघि बढेको भन्दै प्रचण्डले भने, ‘प्रचण्डले पहिचानको आन्दोलनको छाड्यो कि भनेर शङ्का नगर्नुस् ।’




