काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ उपचार खर्च लिन अस्वीकार गरेका छन्।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार जोशीको परिवारले सरकारले दिने रकम नलिने घोषणा गरेको हो।
मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले गत बिहीबार १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।
‘सरकारले उपचार खर्च दिने निर्णय गरेको थियो। त्यसका लागि धन्यवाद। तर परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ नलिने घोषणा गरेको छ,’ पाण्डेले भने, ‘उहाँको परिवारले विपन्न वर्गको उपचारका लागि भनेर वीर अस्पतालमा १० लाख रूपैयाँको कोष खडा गरेको छ। यस्तो अवस्थामा सरकारले दिएको रकम लिन शोभनीय देखिएन भन्ने उहाँको भनाइ छ।’
नेता जोशीलाई उपचारका लागि मुलुक बाहिर लैजाने तयारी पूरा गरिएको भए पनि अस्पतालले बाहिर लैजाने अनुमति नदिएका कारण सम्भव नभएको बताए ।
उनले भने, ‘चिकित्सकहरूले उपचार हुँदैछ ठिक हुन्छ, भन्नुभएको छ। तर, अहिलेसम्म क्लियर कुरा गर्नु भएको छैन ।’




