काठमाडौँ, ६ चैत । सरकारले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै सरकारले १० लाख सहयोग गर्ने बताएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले बिहान ९:३० बजे नर्भिक अस्पताल पुगेर जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए। उनले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए।
गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।
उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो। तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको छ।
जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए ।




