काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार सर्वदलीय बैठक बोलाएकी छन्।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएकोबारे जानकारी दिएका हुन्।
अधिकारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको बताए । उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शितल निवासमा बोलाइएकोजनाएका छन् ।
संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले(, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन्।
सत्ता समीकरणको विषयमा दलहरुबीच चरणबद्ध रुपमा छलफल भइरहेको समयमा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन्।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो।

सर्वोच्च अदालतको आदेशअनुसार फागुन २३ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठकमा आठ अध्यादेश पेस गर्ने कार्यसूचि थियो । सरकारले अध्यादेश पेस गर्ने प्रयास गरेपनि तर बहिष्कार, घेराउ र अवरोधले सम्भव भएन ।




