काठमाडौँ, २६ फागुन । महाशिवरात्रिको अगिल्लो दिन पशुपतिनाथ मन्दिर वरपर साधु सन्तहरूको चहलपहल रहेको छ ।
अघिल्ला वर्षभन्दा यस वर्ष पशुपति क्षेत्रमा साधुहरुको संख्या कम देखिएको छ। नेपालसहित भारतका विभिन्न स्थानबाट साधुहरु पशुपतिनाथमा जम्मा भएका छन्। उनीहरुलाई पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरिरहेको छ।
यस वर्ष कोरोना भाइरस संक्रमणका कारण अघिल्ला वर्षजस्तो विशेष शिवरात्रि कार्यक्रम नभए पनि भक्तजनका लागि उपयुक्त व्यवस्था गरिएको छ।
यसबेला नेपाल तथा भारतबाट आएका बाबा गाँजा तानेर मस्त छन्। गाँजा शिव भगवानको प्रिय मानेर यस अवसरमा सो क्षेत्रमा यसको सेवन गर्न साधुहरुलाई छुटजस्तै छ।
पशुपतिनाथको मूल मन्दिर बाहिरदेखि राममन्दिर हुँदै मृगस्थलीसम्मै साधुहरुको उपस्थिति देखिएको छ। यसपालिको महाशिवरात्रि बिहीबार परेको छ।




