एजेन्सी, २४ फागुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टामा १८ हजार ७ सय ११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजारभन्दा बढी पुगेको जनाएको छ ।
भारतमा २४ घन्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८ सय ३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएको जनाएको छ ।
भारतमा जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सुरु भएको थियो । त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम सुरु भइरहेको छ ।
त्यसैबीच दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप सुरु भएको छ । गत जनवरी १६ यता भारतमा २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।




