एजेन्सी, १३ फागुन । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ ।
विगत २४ घन्टाको अवधिमा भारतमा १६ हजार ७ सय ३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण १ सय ३८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५६ हजार ७ सय ५ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ७ लाख ३८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५१ हजार ७ सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ३८ लाख २९ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र सात लाख ९३ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड २३ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाइने भएको छ ।
त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीहरूको भनाइ छ ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिए ।
सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको जनाएको छ ।




