जनकपुरधाम, ७ फागुन ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको तर्क गरेका छन् ।
शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र वीपी कोइराला तथा वीपी विचार सङ्ग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन ।’
प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद् विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने डा. यादवले बताए ।
डा. यादवले भने, ‘तपाईँ आफ्नो दलभित्रको विवाद समाधान गर्नुस् र, समाधान भएन भने सदनमा जानुस् । अरू दलसँग सहमति लिनुस् । अरू दलले साथ दिन्छ भने सरकार चलाउनुस् । नभए अविश्वासको प्रस्ताव फेस गर्नुस् । र संविधानको स्टेप अनुसार जानुस् भन्नुपर्थ्यो।’
उनले राष्ट्रपति भण्डारीको दलीय आबद्धता नछोडेको आशय प्रकट गरे । ‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि काङ्ग्रेसबाट राष्ट्रपति बन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला म आशा गरौँ ।’
चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानलाई बचाउने ’ उनले प्रश्न गरे ‘भोलि संसद् पुनर्स्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानहरूलाई सोधुँला, त्यो म भन्न सक्दिनँ ।’
लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको बताउँदै उनले लोकतन्त्रलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
लोकतन्त्रको खम्बा राजनीतिक दल हो भन्दै उनले सबैभन्दा ठुलो दल विभाजित भएको र अर्को दल काँग्रेसको अवस्था पनि ठिक नभएको बताए । ‘सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ठिक छ ’ उनले प्रश्न गरेका छन् ।




