प्रधानमन्त्री र राष्ट्रपति संविधानले देखाएको बाटो हिँड्न नचाहँदा देश धरापमा पर्यो : रामचन्द्र पौडेल
धरान, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिँड्न नचाहँदा देश धरापमा परेको बताएका छन्।
धरान उपमहानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपाको सरकारले संविधान, जनताको अपेक्षा र जनमतमाथि ठुलो धोका गरेको आरोपसमेत लगाएका छन्।
पौडेलले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको झगडा मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गर्ने ऐतिहासिक भुल र अपराध गरेको छ। ‘प्रतिपक्षले पनि ५ वर्षसम्म जनताले ‘म्याण्डेट’ दियो, अकन्टक काम गर्नुस्, हिसाबकिताब ५ वर्षपछि गरौला भनेर वाधा विरोध नगरि शासन चलाउन दिएको छ। तर, आज आपसमै भिडेर छताछुल्ला पारेर सडकमा मिल्क्याइएको छ संविधान। सडकमा मिल्याइएको छ जनताको अपेक्षा। जनादेश सडकमा फालिएको छ। मतमाथि धोका भएको छ। कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमाथि चरम धोका भएको छ, राष्ट्रमाथिकै धोका भएको छ ।’
सर्वोच्च अदालतले संविधान नजोगाए देश थप विग्रहमा फस्ने पौडेलको भनाई छ। सामान्य अवस्थामा चुनाव भएर नयाँ प्रतिनिधि चुनिएर सरकार बन्छ भनेजस्तो सहज परिस्थिति नहुने उनले दाबी गरे। ‘अहिले त केही भएको छैन, सर्वोच्च अदालतले जोगाएन भने देशलाई विग्रहमा फसाउँछ ।’
उनले भने, ‘म सांसद नभएपनि प्रतिनिधिसभा पुनःस्थापना भनिरहेको छुँ। चुनाव हुँदा मलाई फाइदा हुन्छ, तर लोकतन्त्र र संविधान धरापमा पारेर मैले के पाउनेरु पहिला यो संविधान बच्नुपर्छ, लोकतन्त्र बच्नुपर्छ, प्रणाली बच्नुपर्छ।’
आफ्नो पार्टीभित्रको विवाद मिलाउन नसके राजिनामा दिनुपर्ने भन्दै पौडेलले आफू नभएपछि कुर्सी नै फालिदिने, जलाईदिने खालको असहिष्णु प्रवृत्ति प्रधानमन्त्री ओलीमा भएको टिप्पणी गरे। ‘पार्टी मिलाएर लैजान सक्नुपर्छ। मिलाउन नसक्ने पार्टी अध्यक्षले राजिनामा दिनुपर्छ, मैले सकिन भनेर बाटो खोलिदिनु पर्छ। तर, यहाँ आफु नभएसपछि कुर्सी नै फालिदिने, जलाइदिने , पौडेलले भने, ‘यो अत्यन्त ठुलो ऐतिहासिक भुल र ऐतिहासिक अपराध भएको छ।’
पौडेलले केन्द्रमा संसद चलाउन नजानेको भन्दै प्रदेशमा पनि नजानेको बताए। प्रदेश १ मा मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामाना नगरि बैठक अवरुद्ध भएकोतर्फ संकेत गर्दै नेता पौडेलले भने, ‘प्रदेशमा पनि संसदीय प्रक्रिया हुन्छ, त्यो प्रक्रिया अनुसार बैठक संसदको बस्छ, संसदका सदस्यहरुको समर्थन र विरोध हुन्छ, संसदीय व्यवहार र आचरण हो। त्यो प्रक्रियाबाट जाने कुरा हो, यहाँ पनि भत्काएको देखे। प्रस्ताव आउछ, सामना गर्नुको सट्टा म नभएपछि दुनियाँ जहाँसुकै जाओस् भन्ने प्रवृत्तिले लोकतन्त्र चल्दैन।’
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराइएपछि नेपाली कांग्रेसभित्र संसद पुनःस्थापना कि मध्यावधि निर्वाचन भन्नेमा मत बाझिएको छ। संस्थापन पक्ष संसद पुनःस्थापनामा जोड गर्न नहुने बताइरहेको छ भने इतर पक्ष संसद पुनःस्थापना कांग्रेसको पहिलो एजेन्डा हुनु पर्ने बताएको छ।




