काठमाडौँ, ६ फागुन ।
सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्स गरिरहेका चारै सुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरूले सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसको कार्य शैलीका विषयमा प्रशिक्षण लिएको छ ।
सशस्त्र मुख्यालय हल्चोकमा बुधवार भएको प्रशिक्षणमा उनीहरूलाई स्थल, जल र हवाई उद्धारका विषय तथा उपकरणको जानकारी दिइएको थियो । विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको विभिन्न विपद् व्यवस्थापन सामाग्रीहरूका विषयमा जानकारी दिइएको थियो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरलेसशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमि, म्यान्डेट, सशस्त्र प्रहरी बल, नेपालको संरचना, देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन, सीमा सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको प्रविधि, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा उपलब्धि, हालका विविध सुरक्षा चुनौतीहरू लगायत शान्ति स्थापना संयुक्त राष्ट्रसङ्घीय मिसनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन लगायतका विविध विषयहरू सुरक्षा अधिकारीहरूलाई प्रशिक्षण दिएका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सैन्य अधिकारीहरूलाई गरेको सम्बोधनमा सुरक्षा संयन्त्रबिचको कार्यगत अभ्यासले कार्यक्षेत्रमा खटिँदा आ–आफ्नो भूमिका स्पष्ट रूपमा निर्वाह गर्न सघाउ पुग्ने बताए । उनले नेतृत्व क्षमता तथा कार्यकुशलता अभिवृद्धिमा विशेष भूमिका खेल्ने कोर्समा आफू सहभागी रहँदाको अनुभव समेत सुनाए ।
कोषमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राज्य अमेरिका, बेलायत, नाइजेरिया, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका गरी कुल ६९ जना प्रशिक्षार्थी अधिकृतहरूको सहभागिता रहेको छ । कोषका सिनियर ईन्स्ट्रक्टर महासेनानी बिमलराज शर्मा लगायत नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरूको प्रशिक्षणमा उपस्थिति थियो ।




